| |
पूर्वी नेपालको धरानमा इसाई धर्माबलम्बीहरुको सम्मेलन स्थल भत्किंदा २३ जनाको ज्यान गएको छ।
मृत्यु हुनेहरुमा चारजना बालबालिका थिए।
दुर्घटनामा परी घाइते भएका ६५ जनाको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भईरहेको प्रहरीले बताएको छ।
ह्रदय विदारक
भिक्टोरिया चोकस्थित सियोन चर्चमा सम्मेलनका लागि बनाइएको बाँसको अस्थायी तीनतले टहरा भत्किएपछि दुर्घटना भएको हो।
बीबीसी नेपाली सेवाकी संवाददाताका अनुसार दुर्घटनास्थलमा अत्यन्त ह्रदय विदारक दृश्य देखिएको थियो।
मृतकका आफन्तहरु शोकमा डुबेका छन्।
हाम्री संवाददाता भन्छिन्, उनीहरु छाती पिटी, पिटी रोएको देख्दा जो कोहीको पनि आँखा रसाउँथे।
आफ्नी पत्नी गुमाएका कुमारी तामांगका पति बलध्वज तामांग डाँको छोडी रोइरहेका थिए।
उनले भने, “हामी दुईजनाको मात्र परिवार थियो। अब म एक्लै भएँ।“
क्षमता भन्दा बढी मानिस उक्त टहरामा बसेपछि दुर्घटना भएको अनुमान गरिएको छ।
बढी चाप
मंगलबार राती भत्केको बाँसको टहरामा १,५०० बढी मानिसहरु बसेका थिए।
असोज १२ गते सोमबार शुरु भएको सम्मेलनमा भाग लिन नेपालका विभिन्न जिल्ला र छिमेकी भारतबाट गरी करीब २,००० मानिसहरु आएका थिए।
सम्मेलनका एकजना आयोजक मुसेष राई दुर्घटनाका साक्षी थिए।
उनी भन्छन्, “पानी परेपछि बाँस भिजेकाले त्यसको वजन बढेको थियो भने राती १० बजेतिर मानिसहरु खाना खाइवरि सुत्न टहरा उक्लेपछि वजन अरु बढ्यो र साढे एघार बजेतिर अचानक टहरा धस्सिएर आयो।"
छानबीन
टहरा भत्किएपछि त्यसबाट कसैको किच्चिएर र कसैको भागदौडमा थिच्चिएर ज्यान गएको र अरु धेरैलाई चोटपटक लागेको प्रहरीले अनुमान गरेको छ।
प्रहरीका अनुसार घटनाको छानविन शुरु गरिसकिएको छ।
गृह मन्त्री भीम रावलले घटनास्थलको निरीक्षण गरी घाइतेहरुको उपचार निशुल्क गरिदिने आश्वासन दिएका छन्।

No comments:
Post a Comment